गण्डकी प्रदेशको आ. व. २०७६/०७७ को बजेट माथिको बहस सम्पन्न

पोखरा, १७ असार ।

सयपत्री समाज कास्कीको आयोजनामा गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत गरेको बजेटमाथि अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा बजेटमाथिको समीक्षापत्र प्रस्तुत गर्दै प्रा डा यादव शर्मा गौडेलले समयमै खर्च हुन सक्ने गरी बजेट आउनुपर्नेमा जोड दिए । कतिपय कार्यक्रमहरु नारामा मात्र सिमित रहेको भन्दै पूर्ण साक्षर प्रदेशको घोषणा महत्वाकांक्षी भएको, अनौपचारिक अर्थतन्त्र मौलाएको, असारे बजेटको प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्ण कार्यान्वयन भएमा प्रदेशको समृद्धि हुने सम्भावनातर्फ संकेत गरे ।

प्राध्यापक डा. यादव शर्मा गांैडेलले सुशासान शीर्षकको बजेट प्रदेशका सांसदलाई कुनै हालतमा बाँड्न नमिल्ने बताए । ‘सुशासन शीर्षकको बजेट सांसद र प्रहरी चौकीलाई दिन मिल्दैन,’ उनले भने, ‘उक्त रकम सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई पारदर्शी र विद्युतीय सुशासन प्रणाली अन्तर्गतका शीर्षकमा खर्च गर्नुपर्छ ।’ सयपत्री समाज कास्कीले गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत गरेको बजेटबारेको अन्तत्र्रिmयामा उनले सांसदलाई बजेट बाड्ने कार्यक्रमलाई प्रदेशको नीति तथा कार्यक्रमले अनुशरण नगरेको दाबी गरे । सरकारको नीति तथा कार्यक्रममा ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने अभियान चलाउने उल्लेख छ । सरकारले गुनासो सुनुवाईको लागि हेल्लो मुख्यमन्त्री कक्ष, कार्यक्रमको अनुगमनका लागि विद्युतीय प्रणालीयुक्त विशेष कक्ष (एक्सनरुम) चलाएको छ ।

प्राडा गौडेलले गण्डकी प्रदेश उज्यालो प्रदेश, १ घर १ धारा, खाद्यान्यमा आत्म निर्भर लगायतका कार्यक्रम नारामा मात्र सिमित रहेको दाबी गरे । १ सहकारी १ उत्पादन कार्यक्रमको लागि बजेटको व्यवस्था नभएको उल्लेख गर्दै उनले ५ करोडको बजेटले आगामी २ वर्ष भित्र प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न नसकिने तर्क गरे । अनौपचारिक अर्थतन्त्र मौलाएको, असारे बजेटको प्रवृत्ति हावी भएको उनले उल्लेख गरे । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गोपाल खड्काले सामाजिक सुरक्षा योजनाको लागि ठोस कार्यक्रम नल्याएको बताए । उनले सामाजिक संघ संस्थालाई विकासको साझेदार नमानेको उल्लेख गरे । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बजेटले मानव संसाधनको विकासका लागि ध्यान नदिएको बताए । अर्थशास्त्री आनन्दराज पराजुलीले सहरका आधारभूत आवश्यकता पूरा भएपछि मात्र स्मार्ट सिटी र स्याटेलाइट सिटीको योजनामा जानु उपयुक्त हुने विचार राखे । सयपत्री समाज कास्कीका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल, पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत खडानन्द पाण्डे, नवराज बराल, शिवप्रसाद गौतम भीमनाथ बराल, गिरधारी सुवेदी, पदम पहारी, कृष्ण तिमिल्सिना, दिनेश श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *